ग्वार्को ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत, अब निर्माण अगाडि बढ्ने दाबी

काठमाडौं । ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो । यसरी तयार गरिएको नयाँ डिजाइन सडक विभागले स्वीकृत गरेको हो ।

सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले उपलब्ध हुन सक्ने उपकरणका आधारमा तयार पारिएको नयाँ डिजाइन स्वीकृत भएको जानकारी दिए । डिजाइन अनुसारका उपकरण उपलब्ध हुन नसक्ने भन्दै माघको अन्तिम हप्ता काम सुरु गरिएको सो फ्लाइओभर निर्माण असारमा रोकिएको थियो ।

उनले भने, “नयाँ डिजाइन अनुसार फ्लाइओभरमा जमिनमुनि गाडिने पाइलको सङ्ख्या बढेको छ भने गहिराइ र डायमिटर घटेको छ । पहिलाको डिजाइन अनुसार ‘फ्लाइओभर’ को पाइलको सङ्ख्या दुवैतिर चार÷चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १।५ मिटर कायम गरिएको थियो तर नयाँ डिजाइन अनुसार पाइलको सङ्ख्या दुवैतिर १२÷१२ वटा कायम गरिएको छ । त्यसै गरी प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १।२ मिटर कायम गरिएको छ ।” उहाँका अनुसार ‘फ्लाइओभर’ को मुख्य संरचनाको डिजाइनमा कुनै पनि परिवर्तन गरिएको छैन ।

सो ‘फ्लाइओभर’ निर्माणका लागि भारतमा उपलब्ध उपकरणका आधारमा नयाँ डिजाइन गरिएको उनले स्पष्ट पारे । उपलब्ध उपकरणले ३० मिटर गहिराइसम्म मात्र पाइल राख्न सक्ने क्षमताको भएकाले सोही अनुसारको डिजाइन स्वीकृत गरिएको हो ।

गहिराइ घटाइएकाले भार थेग्नमा कुनै समस्या नहोस् भनेर पाइलको सङ्ख्या बढाइएको इन्जिनियर महर्जनले स्पष्ट पारे । इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो ‘फ्लाइओभर’ को निर्माण सुरु गरिएको हो । यस मोडेल अनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्भे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।