एसिया कप क्रिकेटमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

काठमाडौँ-: इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ ।

एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्ने प्रति खेलाडीलाई रू एक लाख प्रदान गर्ने घोषणा गरेको थियो । जसअनुसार खेलकुद पत्रकार मञ्चको रोहबरमा आज यहाँ आयोजित कार्यक्रममा भारतविरुद्ध छक्का प्रहार गरेका नेपालका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही रू एक लाख प्रदान गरिएको हो ।

भारतविरुद्धको खेलमा कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभयो । फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिनुभएको थियो ।