सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन सकेन

काठमाडौं, १६ जेठ -क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आज पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन ।मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको अदालतका वैतनिक वकिल शंकर पौडेलले बताए ।

न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ । पूर्व आदेशअनुसार नै गर्नुभनेकाले थप प्रमाणको प्रक्रिया पूरा भइनसकेको र प्रमाण बुझ्ने काम बाँकी भएकाले सो आदेश दिइएको बताइएको छ ।

वि.सं. २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं. २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।