शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर: मुख्यमन्त्री शाह

भजनी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्या मन्दिर क्याम्पसको क्याम्पस सभामा उहाँले वर्तमान आवश्यकताको आधारमा शिक्षालाई गुणात्मक बनाउनका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको हो । “हामी शैक्षिक क्षेत्रको विकासका लागि गम्भीर छौँ । प्रदेश सरकारको स्रोतसाधनले सकेको काम गरिरहेकै छौँ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “विगतको स्थिति हेर्दा शैक्षिक क्षेत्रमा ठूलो सुधार भएको छ तर वर्तमान आवश्यकतालाई हामीले पछ्याउन सकेका छैनौँ ।”

उहाँले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई र उच्च शिक्षा प्रदेशको मातहतमा रहने संवैधानिक व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा पनि शिक्षामा उल्झन कायमै रहेको बताउनुभयो । एक पालिका एक नमूना विद्यालयको अवधारणा बनाएर त्यसलाई कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार रहेको उहाँको भनाइ थियो ।

“माध्यमिक तहसम्मको सबै विद्यालयमा डिजिटल लाइब्रेरी र कम्प्युटर ल्याबको व्यवस्थापन गर्ने गरी पहिलो चरणमा सरकारले योजना अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “त्यो सँगै शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजनाका साथ अगाडि बढ्न खोजेको छ ।”

टीकापुरलाई शैक्षिक नगरीका रूपमा विकास गर्न तत्कालीन टीकापुरका योजनाकार स्व खड्गबहादुर सिंहको योगदानलाई स्मरण गर्नुहुँदै मुख्यमन्त्री शाहले इतिहासलाई जोगाउन सकिएन भने त्यसको पहिचान समाप्त भएर जान सक्ने बताउनुभयो । “राष्ट्रलाई सबल, सक्षम र अर्थतन्त्रमा बलियो बनाउनका लागि शिक्षा र पर्यटन क्षेत्रको विकास समयानुकूल हुनुपर्छ, होइन भने स्थितिले नकारात्मक नतिजा पनि दिन सक्छ । जुन अहिले अध्ययनकै लागि विदेशिनेको लर्को छ”, उहाँले भन्नुभयो ।
–––