‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’ : धनराज गुरुङ

धुलिखेल (काभ्रे), १४ असोज : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताउनुभएको छ । विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको छ भन्नुभयो ।

भुम्लु गाउँपालिकामा धेरै वर्षदेखि भूमिहीन रहेको नागरिकलाई लालपुर्जा वितरण गर्ने र छिमेकी जिल्लासँगको सीमा विवादको समस्यालाई समाधान गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उहाँले यसका लागि आवश्यक समन्वयको काम गर्ने बताउनुभएको छ

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले ग्रामीण क्षेत्रमा बसोबास गरेका नागरिकको मुटु परीक्षण गरी सेवा प्रदान गर्न सहयोग गरेकामा खुसी व्यक्त गर्दै आयोजकलाई सहकार्यमा निरन्तता दिन आग्रह गर्नुभयो । मुटुको उपचार पहुँचवालाले मात्रै गर्ने हो, गरिबले गर्न सक्दैन भन्ने चिन्तामा रहेको नागरिकलाई सहयोग गर्न र परीक्षण गरी स्वस्थ रहनुपर्छ भनेर शिविर आयोजना सही सन्देश दिन सफल भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले आयोजक संस्थाले भुम्लुलाई छनोट गरी सेवा दिनका लागि सहकार्य गरेकामा खुसी व्यक्त गर्नुभयो । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक गभर्नर चन्द्रकुमार केसीले गाउँका दूरदराजमा रहेको नागरिकमा सेवा पुर्याउनका लागि सेवा प्रदान गरेको बताउनुभयो ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्लले परीक्षणको क्रममा जन्मजात मुटुमा समस्या देखिएका बालबालिकाका लागि गङ्गालाल हृदय रोग निवारण केन्द्रमा उपचार गर्ने व्यवस्था मिलाउने जानकारी दिनुभयो । भुम्लु गाउँपालिका र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रद्वारा संयुक्त आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा छ सय जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।