राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाद्वारा उधौलीको शुभकामना

काठमाडौँ, १० पुस : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले किरात समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सनाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा उधौलीपर्वले सबैमा धार्मिक सहिष्णुता कायम गर्ने तथा सकरात्मक सोचको विकास गर्न अहम् भूमिका निर्वाहका साथै सत्मार्गमा लाग्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भएको छ ।

“बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्नु सबै नेपाली समुदायको दायित्व र राष्ट्रप्रतिको सम्मान हो”, सन्देशमा भनिएको छ, “किरात समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ ।”

सन्देशमा मानवजीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नमा समेत योगदान रहेको र राष्ट्रिय एकतालाई मजबुत बनाउन सबैखाले जातीय, भाषिक, धार्मिक र सांस्कृतिक मूल्यमान्यतामा असर पार्ने क्रियाकलापको अन्त्य गर्नु आवश्यक रहेको उल्लेख छ ।

किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूको महान् चाड उधौलीपर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । खेतमा अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर यो पर्व मनाइन्छ ।