नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको छ : अर्थमन्त्री डा महत

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको बताउनुभएको छ । विपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले जननायक बिपी कोइरालाको एक सय १०औँ जयन्तीका अवसरमा   आयोजना गरेको ‘नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक विचार गोष्ठीमा’ बोल्दै उहाँले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेकाले यसलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभयो । अर्थमन्त्री डा महतले लुम्बिनी र पोखरा विमानस्थलभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले अबको चार वर्षसम्म काठमाडौँ–तराई द्रुत मार्ग बनिसक्ने र त्यही अवधिमा विमानस्थल पनि बनाइसक्ने बताउनुभयो ।

अर्थमन्त्री डा महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको स्पष्ट पार्नुभयो । आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा महतले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले निजी क्षेत्रले उत्पादन गरेकामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताउनुभयो ।