नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ : उपराष्ट्रपति यादव

काठमाडौँ, २६ भदौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको बताउनुभएको छ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुक प्रविधिको युगमा प्रवेश गरेकाले अब नेपालीको भविष्य सूचना र प्रविधिको विकाससँग जोडिएको बताउनुभएको हो ।

उहाँले सूचना र प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउण्डेशनको प्रशंसासमेत गर्नुभयो । “पछिल्लो दुई दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती हासिल भएका छन्, यसमा लर्डबुद्ध फाउण्डेशनको महत्त्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले समावेशी र सीपमूलक शिक्षामार्फत स्वदेशमै युवालाई आर्कषित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले पछिल्लो समय युवा विदेशी क्रम तिव्र भएकोमा चिन्ता व्यक्त गर्नुभयो । स्वदेशमा भविष्य नदेखेर पलायन हुनुपर्ने वाध्यतालाई अन्त्य गरिनुपर्ने उहाँको भनाइ थियो ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शिक्षामार्फत महिला सशक्तीकरणमा लर्डबुद्ध फाउण्डेशनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । शिक्षा प्रणालीलाई मुलुकमा सबैको समान पहुँचमा पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो ।

फाउन्डेशनका अध्यक्ष पङ्कज जलानले नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवालाई विदेशिनबाट रोक्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो । सूचना प्रविधिको क्षेत्र अध्यापन गराउँदै आएको फाउन्डेशनबाट २५ वर्षमा १२ हजारभन्दा बढी विद्यार्थीलाई दीक्षित भइसकेको उहाँको भनाइ थियो ।