काराबाखमा ‘शान्तिपूर्ण’ समाधानका लागि पुटिनको आग्रह

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्मेनियाली पृथकतावादी र अजरबैजानबीच भएको युद्धविराम सम्झौताको उल्लेख नगरी नागोर्नो–काराबाखमा जारी द्वन्द्वको ‘शान्तिपूर्ण’ समाधान हुने आशा व्यक्त गर्नुभएको छ ।

पुटिनले चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा भन्नुभयो, “हामी येरेभानका अधिकारीहरूसँग, स्टेपानेकर्टका (पृथकतावादी काराबाख) अधिकारीहरूसँग र बाकुमा द्वन्द्वका सबै पक्षसँग निकट सम्पर्कमा छौं ।” उहाँले भन्नुभयो, “मलाई आशा छ कि हामी तनाव कम गर्न सक्छौं र यस समस्याको समाधान शान्तिपूर्ण मार्गमा स्थानान्तरण गर्न सक्छौं ।

सरकारी टेलिभिजनले वितरण गरेको उक्त फुटेज काराबाखमा युद्धविराम घोषणा हुनुअघि वा पछि रेकर्ड गरिएको थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले काराबाख पृथकतावादी र अजरबैजानले घोषणा गरेको युद्धविराम सम्झौताबारे टिप्पणी गर्न चाहनुभएन ।नियमित ब्रिफिङका क्रममा उहाँले भन्नुभयो, “मसँग विस्तृत विवरण छैन ।”

अजरबैजानले बुधबार नागोर्नो–काराबाखको विवादित क्षेत्रमा पृथकतावादी अर्मेनियाली सेनाले हतियार राख्न र पुनः एकीकरण वार्ता गर्न सहमति जनाएपछि आफ्नो सैन्य कारबाही रोकेको घोषणा गरेको थियो ।