शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ– अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

पार्टी निकट नेपाल रिटर्नी एसोसिएसन समाजवादीको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीले आर्जन गरेको पूँजी र सीपको उपयोग गरी मुलुकमा उत्पादन वृद्धि गर्नसकेमा रोजगारी वृद्धि भई सामाजिक रूपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेकाले यसमा गरिने लगानीले ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने, पूँजी परिचालन तथा अर्थतन्त्रलाई गतिशील बनाउने उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले पार्टीले अवलम्बन गरेको आदर्श नीतिले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्त्व रहेको बताउँदै मुलुकमा गरिबी निवारणका लागि औद्योगीकरण गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशभर गर्न लागिएको समाजवाद जागरण यात्रामा जनताको समस्यालाई प्राथमिकता दिएर उनीहरूको सेवालाई केन्द्रमा राख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले राष्ट्रियताको संरक्षण, जनजीविका, पूर्वाधारको निर्माण तथा विकास र समृद्धिका विषयमा सबैको साझा दृष्टिकोण हुनुपर्ने बताउनुभयो । दलहरूबीच हुनसक्ने ध्रुवीकरणले मुलुकको राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउँदै उहाँले समान लक्ष्य र प्रष्ट वैचारिक दृष्टिकोण भएका शक्तिबीच एकता गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।