७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ ।करिब ७० हजार किलो चिनी भण्डारण गरिएको गुहेश्वरी ट्रेडलिंकको गोदाममा अनुगमनपछि सिल गरिएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले गोदाम सिल गरी चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो ।

खुद्रा व्यापार संघका अधिकारीहरूका अनुसार १ सय २७ रुपैयाँ किलो थोक व्यापारमा चिनी बिक्री गरेर गुहेश्वरीले १ सय ५ रुपैयाँ मात्रै बिल दिने गरेको बताइएको छ ।

दुई साता अघिसम्म १ सय १० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको मूल्य पछिल्लो समय एकाएक १ सय ४० रुपैयाँसम्म पुर्‍याइएको छ । श्रेष्ठले नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले ९७ रुपैयाँमा बेचेको चिनी बजारमा १ सय ५० रुपैयाँसम्म बेच्ने गरेको बताउनुभयो ।

बजारमा चिनीको कृत्रिम अभाव देखाएर महँगो दाममा बेच्ने र कालोबजारी गराउने गिरोह खोजी खोजी कारबाही प्रक्रिया थालेसँगै उक्त गोदाममा ठूलो मात्रामा चिनी लुकाएको फेला परेको हो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।