लाय्कु दरबार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने

भक्तपुर- आगामी शुक्रबार येँया पुन्हिको दिन मध्यपुरथिमिको लाय्कु दरबार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएको छ । मध्यपुरथिमि नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक एवं धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो जात्रालाई सहजरूपमा सम्पन्न गर्न नगरवासीमा आह्वान गर्नुभयो ।

उहाँले तीन सय ५० वर्षभन्दा अगाडिदेखि जिब्रो छेडिँदै आएको यो जात्रालाई निरन्तरता दिन र यस वर्षको जात्रा सहजरूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वमाझ फैलिने भन्दै धेरै जोखिमका बीच हुने जात्रालाई सहजरूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

जात्रा हेर्न र थिमिदेखि पशुपतिसम्मका यात्रामा साथ दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पनि सहभागिता रहने निश्चित भएको उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा जिब्रो छेडाउन तयार रहनुभएका मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले आश्विन शुक्ल पूर्णिमाको दिन साँझ ७ बजे हजारौँ जनमानसका अगाडि तीनवटा सियो भएको सुइरोले जिब्रो छेडाएर ४० किलोको महाद्वीप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस पटक म इतिहास रच्ने पक्षमा छु, यसअघि पहिलोपटक २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको थिएँ, यस वर्ष पशुपतिसम्मको यात्रा पूरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पूरा गर्नेछु ।” दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि बनाइएको मञ्चमा हजारौँ स्थानीयवासीका अगाडि जिब्रो छेडिने भएको हो ।

जात्राका लागि गठन भएको येया पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले पशुपति जाने र आउने गरी १७ किलो मिटरसम्म जिब्रो छेडेर ४० किलो तौलको महाद्वीप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हँुदै पशुपति मन्दिरभित्र प्रवेश गरी दर्शन गर्दै पुनः मध्यपुरथिमिको बालकुमारी आएर सुइरो निकाल्ने गरी तयारी गरिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले ऐतिहासिक यो जात्रा विसं २०२६ देखि लोप भए पनि विसं २०५० देखि मध्यपुरथिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुनर्जीवन दिएको बताउनुभयो । त्यसपछि विसं २०६३ देखि सञ्चालन हुन नसकेकोमा विसं २०७४ मा मध्यपुरथिमि–४, बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनुभएको उहाँले जानकारी दिनुभयो ।