एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

कर्णाली- नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गर्नुभयो । उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गर्नुभयो ।

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गर्नुभयो । उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए । प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।