समानुपातिक पद्धति हटाए समावेशिता समाप्त हुन्छ : नेता पौडेल

टक्सार (भोजपुर)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताउनुभएको छ । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस षडानन्द नगरपालिकाको प्रथम नगर सम्मेलनको भोजपुरको दिङलामा उद्घाटन गर्दै नेता पौडेलले समानुपातिक कोटामा आफ्ना निकटका व्यक्ति ल्याउने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उहाँले जनसङ्ख्या, समुदाय र जमिन अनुकूलको समावेशिता आवश्यक रहेको उल्लेख गर्नुभयो । सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

“कांग्रेसले जनताको सरोकारसँग जोडेर आफ्नो गतिविधि अगाडि बढाउनुपर्छ”, नेता पौडेलले भन्नुभयो । कोशी प्रदेशका प्रदेशसभा सदस्य एवम नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाले कांग्रेसभित्र धेरै समस्या देखिएकाले अबका दिनमा सच्चिएर जान आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नगर सभापति भीम तामाङ, पार्टीका जिल्ला सचिव सफल किरातलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।