नमोबुद्धका सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गरिँदै

धुलिखेल – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रक्रिया अघि बढाएको छ । नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाको अध्यक्षता र सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलहरूसमेतको सहभागितामा बिहीबार बसेको व्यवस्थापन सहजीकरण समितिको बैठकले व्यवस्थापनको प्रक्रियाअघि बढाएको हो । बैठकमा नगरप्रमुख लामाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई प्रचलित कानुन र नियमअनुसार जग्गा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको भन्दै यसले सरकारलाई फाइदा पुग्ने धारणा राख्नुभयो ।

नगर उपप्रमुख रत्नबहादुर लामाले गहिरो अध्ययन गरेर मात्रै यसबारे निर्णय लिनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष मिण्डु लामाले जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासीसँग कागजपत्र नभएको भन्दै निश्चित मापदण्ड बनाएर निर्णय गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक पुष्कर न्यौपानेले राज्यले सही नियतले व्यवस्थापन गर्न खोजे पनि भूमाफिया सक्रिय हुनु सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठले अझै पनि निवेदन दिन धेरै छुटेको भन्दै पुनःअवसर दिनुपर्ने बताउनुभयो ।

वडा नं ७ का अध्यक्ष धर्मसिंह लामा र वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले व्यावहारिक पक्षलाई हेरेर अव्यवस्थित बसोबासीलाई जग्गा दिन निश्चित मापदण्ड बनाएर मात्रै प्रक्रिया बयाउनुपर्र्ने बताउनुभयो । नगरपालिकाभित्र १४ परिवार भूमिहीन दलित, ७० परिवार सुकुम्वासी र नौ सय ७८ अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ । अझै छुट भएको हुन सक्ने भन्दै समितिले पुनःसूचना प्रकाशनको लागि आयोगलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

यसअघि नगरपालिकाले सबै वडामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिसकेकोमा ३५ दिनको म्याद दिएर सङ्कलित आवेदन रुजु भइरहेको नगरपालिकाले जनाएको छ ।