गायक राजेशपायल राईसँगै छमछमी नाचे विदेशी चित्रकार

खोटाङ, २१ असोज : ‘राई इज किङ’ उपाधि प्राप्त चर्चिच गायक राजेशपायल राईसँगै ख्यातिप्राप्त चित्रकारहरु दिल खोलेर छमछमी नाचेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’को समापन कार्यक्रममा चर्चित गायक राईले दिक्तेलमा दिनुभएको साङ्गीतिक प्रस्तुतिमा ख्यातिप्राप्त विदेशी चित्रकारहरु दिल खोलेर छमछमी नाचेका हुन् ।

यही असोज १७ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीको समापन कार्यक्रम शनिबार साँझ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती नमूना माविमा राखिएको थियो । सिमसिम पानी परिरहेको अवस्थामा आयोजित कार्यक्रममा गायक राईले आधा दर्जन चर्चित गीत गाउनुभएको थियो ।

सो नगरपालिकाका सद्भावनादूतसमेत रहनुभएका गायक राईले दसैँ दिक्पाल, दिक्तेल बजार, देमसारो, दर्शन नमस्ते, कहाँको तिमी–कहाँको म, भेट भयो दिक्तेल बजारमा र हुरुक्कै भए म जस्ता गीत गाउनुभएको थियो । गायक राईले एकपछि अर्को गीत गाउँदै गर्दा उहाँसँगै विदेशी चित्रकार, नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, धनु आर्ट स्टुडियोका सञ्चालक वरिष्ठ चित्रकार धनु याख्खालगायत कार्यक्रममा सहभागी सबै नाचेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइपामा जन्मनुभएका चर्चित गायक राईले आफ्नो प्रस्तुति दिनअघि जिल्लाको समग्र विकासमा ध्यान दिन जनप्रतिनिधि तथा नेताहरुलाई सुझाव दिनुभएको थियो । विकास गरेमा यो पार्टी, त्यो पार्टी नभनी सहयोग गर्ने गायक राईले प्रतिक्रिया दिनुभएको छ ।

नगरपालिकाले कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरेको चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित १४ देशका ४३ ख्यातिप्राप्त चित्रकार खोटाङ आएका थिए । चित्रकारले क्यानभासमा प्रत्यक्ष उतारेका पेन्टिङ चित्रलाई केही महिनापछि काठमाडौँस्थित आर्ट ग्यालरीमा लगेर प्रदर्शनी गर्ने योजना बनाइएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

खेलकुदमन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा समापन गरिएको कार्यक्रममा साङ्गीतिक कार्यक्रम, स्थानीय परिकारका व्यापारिक कक्ष, सांस्कृतिक झाँकी, नृत्यसहित प्रदर्शनी गरिएको थियो । पाँचदिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममार्फत नगरपालिकाले ख्यातिप्राप्त चित्रकारले कोरेका करिब एक सयवटा क्यानभास चित्र प्राप्त गरेको जनाइएको छ ।

जिल्लामै पहिलो पटक दिक्तेलमा आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम हजारौँले अवलोकन गरेका छन् । प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

स्वदेश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारले तयार पारेका चित्रकला प्रदर्शनी कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्र÷छात्राले तयार पारेका चित्रलाई पनि समावेश गराइएको नगरपालिकाले जनाएको छ । जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको रु १८ लाख खर्चमा प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नगर उपप्रमुख राईले जानकारी दिनुभयो ।