काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, २४ असोज : श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ सेटमा पराजित गरेको हो ।

अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट १९–२५ तथा तेस्रो सेट २२–२५ अङ्कले गुमाएको थियो । नेपालले चौथो सेट २५–२१ अङ्कले तथा पाँचौँ एवं निर्णायक सेट १५–१० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।

नेपाल हालसम्म खेलेका तीनमध्ये दुई खेलमा विजयी तथा एउटामा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसित ३–१ सेटले विजयी भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

जारी प्रतियोगितामा अफगानिस्तानको यो पहिलो हार हो । अफगानिस्तानले यसअघि पहिलो खेलमा उज्वेकिस्तानलाई ३–२ तथा दोस्रो खेलमा बङ्गलादेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

नेपालले अब शुक्रबार साउदी अरबसित खेल्नेछ । यही असोज २८ गतेसम्म सञ्चालन हुने उत्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब र उज्वेकिस्तान सहभागी छ्न ।