सिमकोटमा भएको राष्ट्रपति रनिङशिल्ड बालमन्दिर माविलाई

राष्ट्रपति रनिङशिल्ड बालमन्दिर माविलाई हुम्लाको सिमकोटमा भएको गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बालमन्दिर माविले स्वर्णपदकसहित विजेता भएको छ । बालमन्दिरले १३ स्वर्ण, आठ रजत र २३ कास्यपदक जित्दै कूल ९३ अङ्क प्राप्त गरी प्रथम भएको हो । मानसरोवर माविले १० स्वर्णसहित ९७ अङ्कका साथ द्वितीय भएको छ भने कैलाश माविले एक स्वर्णसहित प्रतियोगितामा तृतीय भएको छ ।

आयोजक कर्णाली माविका प्रधानाध्यापक रामराज शाहीले भलिबलमा छात्रातर्फ मानसरोवर मावि प्रथम भएको छ भने बालमन्दिर मावि द्वितीय र रामदेव मावि तृतीय भएको जानकारी दिनुभयो । उहाँका अनुसार भलिबलतर्फ छात्रको प्रतियोगितामा बालमन्दिर मावि पहिलो, कर्णाली मावि द्वितीया र मानसरोवर मावि तृतीय भएका छन् । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र उपाध्यक्ष सुशीला रोकाया भामले विजेता छात्रछात्रालाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सिमकोटका सात माविको सहभागिता थियो ।