हिमाली जिल्ला मनाङमा हिमपात

मनाङ- हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिनुभयो ।
“विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । उहाँका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ । समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् ।
स्थानीय याङदुङ गुरुङले सयममा हिमपात हुँदा किसानमा खुसी छाएको बताउनुभयो । “हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुआत भएको छ, यसले किसानलाई फाइदा हुन्छ”, उहाँले भन्नुभयो ।
हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताउनुभयो । “हिमपातको सुरुआत भएकाले मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौँरी बेसी झार्ने बेला भएको छ”, उहाँले भन्नुभयो । हिमाली जिल्लाका मानिसलाई त हिमपात भएपछि खुसी हुने गरेको उहाँले बताउनुभयो ।
गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताउनुभयो ।
गुरुङले भन्नुभयो, “पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, उत्पादन राम्रो हुने आशा लिएका छौँ, यस वर्ष समयमा नै सुरु भएको छ ।” यहाँ उत्पादन हुने स्याउ, करु, जौ, फापर, आलुलगायतका बाली पानी पुग्ने हुन्छ ।