कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

मोरङ, २३ मङ्सिर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी कार्य गर्न निर्देशन दिनुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै उहाँले ऐन, नियमावली, कार्यविधिअनुसार काम गरे अख्तियारले दण्डिन होइन पुरस्कृत गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहबीच सुशासन कायम गर्नेतर्फ प्रतिस्पर्धामा लाग्न आग्रह गर्नुभयो । “राज्यका सबै अङ्क एक अर्काका पूरक हुन्, आयोग अपराधीका लागि कठोर हो भने असल नियतले काम गर्नेका लागि पवित्र नदी गङ्गा हो”, उहाँले भन्नुभयो ।

उहाँले तोकिएभन्दा कम रकममा टेण्डर सम्झौता गरी काम नगर्नु पनि भ्रष्टाचार भएकाले प्रदेश सरकारले यस कार्यलाई कुनै किसिमको छुट नदिने प्रष्ट पार्नुभयो ।

प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले सरकारका सबै अङ्ग भ्रष्टाचारविरुद्धमा लाग्नु पर्ने बताउनु भयो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भ्रष्टाचार नियन्त्रणमा सबैले आफ्नो क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अख्तियारबाट स्थानीय तह पीडित भएकाले उजुरी उपर अनुसन्धान छिटो टुङ्ग्याउन सुझाव दिनुभयो ।

आयोगका इटहरी प्रमुख सुरेश न्यौपानेले मुलुकमा भ्रष्टाचारको अवस्था र नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैभन्दा वढी स्थानीय तहसम्बन्धी ३५ दशमलव १० प्रतिशत उजुरी आएको जानकारी दिनु भयो । सो अवसरमा प्रदेशका सरकार अन्तर्गतका सबै मन्त्रालयका सचिव, सङ्घीय सरकार कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता थियो ।