उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङको शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उत्तर कोरियाले आइतबार कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले जनाएको छ ।

सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । सियोल र वासिङ्टनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो ।

दुई मित्र राष्ट्रले शुक्रबार वासिङ्टनमा आणविक परामर्श दाता समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँगको द्वन्द्वको स्थितिमा आणविक प्रतिरोधका बारेमा छलफल गरेका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा पूर्ववर्ती किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले यो प्रक्षेपण गरेको हो । उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो । उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।