श्रीलङ्काका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउदै

काठमाडौँ, ४ पुस : प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौँमा आयोजना हुने नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । संयुक्त आयोगको बैठकमा विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नुहुनेछ । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुहुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँ पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नुहुनेछ ।