बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ – गगन थापा

जनकपुरधाम – महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय बढेका आक्रोसका आवाजलाई विभिन्न कोणबाट समीक्षा गरे पनि त्यस्तो तागत जनअसन्तुष्टिका कारण प्राप्त भइरहेको भन्दै महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्न काम गरेर देखाउनुको विकल्प नभएको बताए । उनले भने, “जनता रिसाएका छन् । बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ । तर त्यसको जिम्मा कसले लिने हो ? चार प्रदेशमा मुख्यमन्त्री, सात प्रदेशमा कांग्रेससहितका सरकार, सबैभन्दा बढी पालिकामा कांग्रेसकै जनप्रतिनिधि छन् । त्यसैले हामीले बोलेर होइन काम गरेर देखाउनुपर्छ ।”