पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानत तर कारागारमै रहने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य कुराहरू चुहावट गरेको आरोपमा शुक्रबार जमानत दिइएको वकिलहरूले बताएका छन् । यद्यपि अन्य आरोपमा उहाँ कारागारमै रहनुहुने भएको छ । अगस्टमा हिरासतमा लिइएका खानले शक्तिशाली सेनामाथि उहाँको लोकप्रिय आन्दोलनलाई दबाउन र आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिनबाट रोक्न लामो समयदेखि पाकिस्तानमा प्रभुत्व स्थापित गरेका वंशवादी पार्टीहरूसँग मिलेर काम गरिरहेको आरोप लगाउनुभएको छ ।

सन् २०२२ अप्रिलमा शीर्ष अधिकारीहरूसँगको मनमुटावपछि सत्ताबाट बाहिरिनुभएका ७१ वर्षीय खान कानूनी मुद्दाहरूको झमेलामा पर्नुभएको छ र दुई पटक कारागार गइसक्नुभएको छ ।

वकिल सलमान सफदरले खानका पूर्वविदेशमन्त्रीको नाम लिँदै अदालतबाहिर पत्रकारहरूसँग भन्नुभयो, “मुद्दा पूर्णरूपमा समाप्त भएको छ, इमरान खान र शाह महमुद कुरेशीलाई अन्ततः जमानत दिइएको छ ।” अभियोजकहरूले खान र कुरेशीमाथि अमेरिकामा पाकिस्तानका राजदूतले पठाएको कूटनीतिक तारलाई गलत प्रयोग गरेको आरोप लगाएका छन् ।

कानूनी चुनौतीले अदालतलाई उपस्थित पर्यवेक्षकहरूसँग कार्यवाही पुनः सुरु गर्न बाध्य नतुल्याउन्जेल कथित आरोपका लागि मुद्दा कारागारभित्र भएको थियो र ट्रायल गोप्यरूपमा भएको थियो ।

पूर्वप्रधानमन्त्री खानको तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले खान भ्रष्टाचारका विभिन्न मुद्दामा कारागारमा रहनुभएको र फेब्रुअरी ८ मा हुने निर्वाचनमा उम्मेदवारी दिन कारागारबाट बाहिर निस्कने सम्भावना अत्यन्त कम रहेको बताएको छ । “निकट भविष्यमा उहाँले राहत पाउने सम्भावना अत्यन्त कमजोर देखिन्छ”, पार्टीका वकिल खालिद युसुफ चौधरीले भन्नुभयो ।

पाकिस्तानमा राजनीतिज्ञहरूको भाग्य ऐतिहासिकरूपमा सैन्य प्रतिष्ठानसँग उनीहरूको सम्बन्धमा निर्भर गर्दछ । पाकिस्तानी सेनाले धेरै अवसरमा मुलुकमा प्रत्यक्ष शासन गरेको छ । अत्यन्त लोकप्रिय खान सेनाको समर्थनमा सन् २०१८ मा सत्तामा आउनुभयो तर संसदीय अविश्वास मतबाट अपदस्थ भएपछि उहाँले सैनिक जनरलहरूले वासिङ्टनसँग मिलेर उहाँको कार्यकाल समाप्त गर्ने षड्यन्त्र रचेको दाबी गर्नुभएको छ ।

उहाँले सार्वजनिकरूपमा कूटनीतिक दस्तावेजहरूलाई आफ्नो दाबीका लागि आवश्यक प्रमाणका रूपमा प्रचार गर्नुभयो । उहाँका वकिलहरूका अनुसार गोप्य सूचना चुहाएको अभियोगमा उहाँलाई १४ वर्षसम्मको कारागार सजाय वा मृत्युदण्ड पनि हुनसक्छ ।