राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन शनिबार उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, “राष्ट्र अहिले दोधारमा उभिएको छ, अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको छ ।”

पूर्वप्रधानमन्त्री देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताउनुभयो । उहाँले पार्टीलाई अझै सुदृढ गर्दै तल्लोस्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

कांग्रेस उपसभापति धनराज गुरुङले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताउनुभयो । उहाँले सङ्घीय प्रहरी ऐन, सङ्घीय कर्मचारी ऐन र शिक्षा विधेयक संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने स्पष्ट पार्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिट्टै सङ्घीय कानुनहरू पारित गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न पार्टी र सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले केन्द्रले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको बताउनुभयो । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिका सभापतिको सहभागिता थियो ।