रास्वपाले आजदेखि चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा सुरु गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्दैछ । पार्टी सभापति रवि लामिछानेले आजदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् ।

रास्वपाको दबाब यात्रा’ नाम दिइएको अभियान बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । ११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको दबाब अभियानको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यात्रामा रास्वपाका नेता र सांसदहरू समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहना हुँदाहुँदै पनि यो पटक समय छुट्याउन असमर्थ भएको सभापति लामिछानेले बताएका छन् ।

उनले यात्राका क्रममा बीच बीचमा स्वागत वा अन्य कार्यक्रम नराख्न समेत अनुरोध गरेका छन् । सभापति लामिछानेले दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।