जुम्लाको दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण,स्थानीयलाई आवातजावत गर्न सहज

जुम्ला, २० पुस : तातोपानी गाउँपालिका–७ स्थित दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण हुँदा सो वडाका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । गाउँपालिका, फोरएस संस्था र स्थानीयको श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिएको वडाध्यक्ष तिलक रावतले जानकारी दिनुभयो ।

विसं २०७९ को असोज १९ देखि २५ गतेसम्म आएको बाढीले सोही ठाउँमा काठेपुल बगाएपछि स्थानीयलाई आवातजावत गर्नमा समस्या थियो । स्थानीय सरकारको लगानीमा झोलुङ्गे पुल निर्माण भएपछि यहाँका नागरिक खुसी भएका वडाध्यक्ष रावतको भनाइ छ ।

पुल निर्माण नहुँदा उक्त वडाका ६० घरधुरीलाई आवतजावतमा निकै समस्या थियो । अहिले पुल निर्माण भएपछि स्थानीयलाई राहत भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज थापाले बताउनुभयो । अब पुल निर्माण भई सञ्चालनमा आएपछि तातोपानी–७ का नागरिकलाई सहज भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिनुभयो ।

कुल रु ४२ लाख लगानीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । तातोपानीमा हालसम्म १५ झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको फोरएसका प्राविधिक अधिकृत पूर्णबहादुर थापाको भनाइ छ ।