बागमती प्रदेशमा उम्मेदवारद्वारा मनोनयनपत्र दर्ता

मकवानपुर, २३ पुस : राष्ट्रियसभा सदस्यको आगामी माघ ११ गते हुने निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारहरुले आफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको छ ।सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा (माओवादी केन्द्र) को तर्फबाट श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट घनश्याम रिजालले बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, ध्रुवराज विश्वकर्मा र रोजकुमारी चौलागाइँले पनि मनोनयनपत्र दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट हेमजङ्ग गुरुङ्, पूर्णबहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी र भरतमणि भट्टले पनि राष्ट्रियसभा सदस्यका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, सङ्गीता नेपाली र हिमालयश्वर मुलले पनि मनोनयनपत्र दर्ता गराउनुभएको प्रदेश मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले राससलाई जानकारी दिनुभयो ।