कटन क्याण्डीमा ‘रोडामाइन वी’ प्रयोग गरिएकाले नखान आग्रह

काठमाडौँ, १२ माघ : कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने खालका अखाद्य रङ रोडामान वीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताउनुभयो । उहाँले खुलारुपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गर्नुभयो ।

विभागले अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न÷नगराउनसमेत सबैलाई अनुरोध गरेको छ । “कतै अखाद्य रङ प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री विवरण गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने व्यवहोरा सबैलाई जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा पङ्कज रायले कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बताउनुभयो । उहाँका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ ।