सङ्घीय सरकारले  तीन करोडभन्दा कमका योजनामा लगानी नगर्ने प्रधानमन्त्रीको घोषणा 

पर्सा, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले रु तीन करोडभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गर्नुभएको छ । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि रु तीन करोडभन्दा माथिको योजनामा मात्रै सङ्घीय सरकारले लगानी गर्ने बताउनुभयो ।

वीरगञ्जको नगरसभागृहमा आज आयोजना गरिएको प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकको उद्घाटन सभामा प्रधानमन्त्री दाहालले सबैको सल्लाहमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो ।

सरकारले एकपक्षीय ढङ्गले ल्याउने नीति तथा कार्यक्रमले काम नगरेको भन्दै उहाँले अब नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिबीच बृहत् छलफल र बहसबाट प्राप्त रायसुझावकै आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभयो ।

सरकारले पहिले पुराना योजनालाई पूरा गर्ने अनि मात्र नयाँ योजनामा लगानी गर्ने निर्णयमा पुगेकाले आगामी आवको बजेट पुराना योजनालाई सम्पन्न गर्ने दिशातर्फ उन्मुख हुने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले पुराना योजना सम्पन्न नहुँदै नयाँ योजना ल्याएका कारण ऋणको भार मात्र थपिएको र आम जनताले विकासको अनुभूति नगरेको बताउनुभयो ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भए पनि आम जनताले विकासको अनुुभूति गर्न नसकिरहेकाले सरकार अब उत्पादन र रोजगार सृजनालाई मुख्य कार्ययोजनामा समेट्ने उहाँले बताउनुभयो । “सरकारले चाँडै देशभित्रका रुग्ण उद्योगलाई सञ्चालन गर्ने तयारीमा जुटेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा विराटनगरको जुटमिल, हेटौँडाको कपडा कारखाना, गोरखकाली टायर उद्योग, बुटवल धागो उद्योगलाई सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ ।”

उहाँले केही उद्योग सरकारी–निजी साझेदारी ढाँचामा सञ्चालन गर्ने र केहीको सञ्चालन नेपाली सेनालाई दिने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले त्यस्ता उद्योग सञ्चालन गर्न सके उत्पादन र रोजगार दुवै बढ्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारलाई बदनाम गराउने प्रयास भइरहेको समेत बताउनुभयो । उहाँले सरकारले राम्रो काम गर्दा पनि सामाजिक सञ्जालमा गतल ढङ्गले प्रचारप्रसार भइरहेको बताउनुभयो ।

प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटा र मातृका यादवलगायत वक्ताहरुले समाजिक सञ्जालको दुरुपयोग गरी सरकारविरुद्ध भइरहेका गलत प्रचारलाई चिर्न सञ्चारकर्मीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रेस सेन्टरका विभिन्न प्रदेश तथा जिल्लाका पदाधिकारीलाई प्रधानमन्त्रीले सम्मान गर्नुभएको थियो ।