बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बीबीसी । बेलायतका राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ । क्यान्सरको प्रकार खुलाइएको छैन।

तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमबारबाट नियमित उपचार थालेका छन् । ७५ वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन् । उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने छन् ।

तर बकिङ्गम दरबारले राजा “आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको“ जनाएको छ । सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहने छन् ।

आइतबार उनलाई सान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो। त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए । उनले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रस्टेटको उपचार गराएका थिए ।

राजाले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ । राजा चार्ल्सको उपचार जारी रहने छ। क्यान्सर प्रारम्भिक चरणमा नै हुँदा पत्ता लागेको विश्वास गरिएको छ।