कतार इनर्जीले गर्यो भारतको पेट्रोनेटसँग २० वर्षको ग्यास सम्झौता

कतार भारतको पेट्रोनेटलाई २० वर्षसम्म तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्न सहमत भएको खाडी इमिरेट्सको सरकारी स्वामित्वको ऊर्जा फर्मले मङ्गलबार घोषणा गरेको छ ।कतारइनर्जीले सम्झौताअन्तर्गत भारतका लागि सरकारी स्वामित्वको पेट्रोनेटलाई प्रतिवर्ष ७५ लाख टन एलएनजी आपूर्ति गर्ने कतारी कम्पनीले विज्ञप्तिमा जनाएको छ । कतारइनर्जीका प्रमुख कार्यकारी एवं ऊर्जामन्त्री साद अल–काबीले भने, “यो सम्झौता कतार र भारतबीच लामो समयदेखिको ऊर्जा साझेदारीमा अर्को कोसेढुङ्गा हो र यो भारतमा पहिलो एलएनजी सिपमेन्टको २०औँ वार्षिकोत्सवका अवसरमा आएको छ ।”

कतारइनर्जीको एलएनजी फ्लिटले भारतलाई ग्यासको पहिलो आपूर्ति सन् २०२८ मेदेखि गर्नेछ । “यो नयाँ सम्झौताले भारतसँगको सम्बन्ध अझ सुदृढ हुनेछ र यसको ऊर्जा मिश्रणमा प्राकृतिक ग्यासको योगदान बढाउने दृष्टिकोणलाई समथन गर्नेछ भन्ने हामीलाई विश्वास छ”, काबीले भने ।

अमेरिका, अस्ट्रेलिया र रुससँगै कतार विश्वको शीर्ष एलएनजी उत्पादकहरूमध्येको एक हो । चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा रहेका एसियाली मुलुकहरू कतार ग्यासका लागि प्रमुख बजार हुन् तर युक्रेनमाथि रुसको आक्रमणपछि आपूर्तिमा शङ्का भएपछि युरोपेली मुलुकहरूबाट पनि माग बढेको छ ।

गत वर्ष घोषणा गरिएको चीनको सिनोपेक, फ्रान्सको टोटल, बेलायतको शेल र इटालीको एनीसँग दीर्घकालीन कतारको ग्यास आपूर्ति सम्झौताको घोषणाको लहरपछि यो सम्झौता भएको हो । जनवरीको अन्त्यमा कतारइनर्जीले बङ्गलादेशलाई १५ वर्षसम्म प्रतिवर्ष १५ लाख टन एलएनजीको आपूर्ति गर्नका लागि अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग सम्झौताको घोषणा गरेको थियो ।