इंग्ल्याण्डका खेलाडीलाई हराउँदै भक्तपुरका राधेश्यामको टोलीलाई स्वर्ण

भक्तपुर, ३० फागुन । पिकलबल एशोसिएसन नेपालको आयोजनामा भएको पहिलो अन्तर्राष्ट्रियस्तरको पिकलबल प्रतियोगितामा भक्तपुरका राधेश्याम मचामसीको टोलीले स्वर्ण पदक हात पारेको छ ।भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रियस्तरको पिकलबल आयोजना काठमाडौँको बौद्धस्थित स्नोल्याण्ड स्पोर्ट्स एकेडेमीमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा जनक फडेरा, राधेश्याम मचामसीले डेभिड बी र सिल्भानोलाई हराउँदै स्वर्ण पदक जितेका थिए । राधेश्याम भक्तपुर युवा टीम गोल्मढीमा आवद्ध छन् । भक्तपुर युवा टीमका सदस्य सुरेश कवांले राधेश्यामको टोलीलाई स्वर्ण पदक मिलेको जानकारी गराए ।

नेपाललगायत क्याम्ब्रीज पिकलबल क्लबमा आबद्ध बेलायत, पोर्चुगल, इटालीका खेलाडीहरुले ओपन डबल्स, गर्ल्स डबल र मिक्स डबल्स खेलहरुमा समीर पोखरेल, सुवर्ण शाहले डेभिड एम र डेभिड एसलाई फाइनलमा हराउँदै स्वर्ण पदक जितेका थिए ।

त्यसैगरी ओपन मिक्स डबल्समा नेपालका खेलाडी ज्याक्सन सुवेदी र सबल दाहालले तृतीय स्थान हासिल गरेका छन् । गर्ल्स डबल्समा नेपालका प्रजुना अधिकारी र स्वस्तिका महर्जन तृतीय भएका थिए भने मिक्स डबल्समा नेपालका किरण खनाल र प्रजुना अधिकारीले सिल्भर मेडल जितेका छन्।

टुर्नामेन्टमा रियो नेपाल, एनसिसिएस स्कुल र अरुण चौधरी फाउन्डेसनले स्पोन्सर गरेको थियो । सहयोगी र सहभागीहरुलाई पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । पछिल्लो समय विश्वब्यापी रुपमा अत्यन्तै लोकप्रिय बनेको खेल नेपालमा पनि लोकप्रिय बन्दै गएको छ ।