गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति कति ?

पोखरा, ७ वैशाख- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको काठमाडौंमा घडेरी र चितवनमा रिसोर्टमा लगानी रहेको उल्लेख छ ।मुख्यमन्त्री अधिकारीले प्रभु बैंकबाट ८० लाख ऋण लिएर २०७८ जेठमा चन्द्रागिरी नगरपालिका काठमाडौंमा ८ आना घडेरी किनेको उल्लेख गरेका छन् ।

पोखरा–३१ चिप्लेटी स्थायी ठेगाना बताएका अधिकारीले पोखरा–१२ शान्तिटोलमा करिब ६ आना जग्गामा ८० लाखमा घर किनेको उल्लेख गरेका छन् । हाल उक्त घर जग्गाको मूल्य २ करोड पर्ने विवरणमा उल्लेख छ ।उक्त घर जग्गा पैतृक सम्पत्ति बिक्रीबाट खरिद गरेको जनाइएको छ । सम्पत्ति विवरणमा मुख्यमन्त्री अधिकारीले स्वआर्जनबाट नगद १५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख नगद मौज्दात रहेको उबताएका छन् । अधिकारीले आफूसँग तीन तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् । अधिकारीले पेश गरेको विवरणमा गण्डकी विकास बैंकमा २ हजार ४९७ कित्ता शेयर रहेको उल्लेख गरेका छन् । उनले खेतीपातीबाट वार्षिक ६ लाख आम्दानी गर्ने गरेको पनि विवरणमा उल्लेख छ ।

पोखरामै अग्रगामी कृषि फार्ममा श्रीमती रमा पाण्डेको नाममा साढे १६ लाख लगानी रहेको पनि अधिकारीले विवरणमा पेश गरेका छन् । मुख्यमन्त्री अधिकारीसँग अहिले स्कोर्पियो गाडी छ । मुख्यमन्त्री अधिकारीले चितवनमा बन्दै गरेको फ्रेस वेब रिसोर्टमा पनि लगानी गरेको उल्लेख गरेका छन् ।