नवराजपुर गाँपाकाे शिक्षक भर्नामा यादव मात्र उतिर्ण गराएकाे भन्दै बिराेध

सिरहा २ जेठ । सिरहाको एक पालिकाले स्वयम् सेवक शिक्षक भर्नामा जातिय समावेसी नगरेको भन्दै व्यापक विरोध भएकाे छ ।जिल्लाको नवराजपुर गाँउपालिकाले पालिका भित्रका सामुदायीक विद्यालयका लागी जम्मा २४ जना विषयगत स्वयम् सेवक शिक्षक छनोट परीक्षाबाट जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा एकल जातिय भएको भन्दै व्यापक टिका टिप्पणी भएको हो।

पालिकाभित्रका २० विद्यालयका लागी २४ वटा विषयगत स्वयम् सेवक शिक्षक छनौटको लागि लिएको लिखित परीक्षामा जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा छनोट गरिएका उम्मेदवारहरु मध्ये एक जना शिक्षक ठाकुर थरको र अन्य सबै यादब थरको शिक्षक भर्ना गरिएका छन् । पालिकाले माग गरेको २४ जना सिट संख्यामा जम्मा ६२ जनाले आवेदन दिएका थिए ।

पहिलो चरणको परिक्षामा ५३ जना सहभागी रहेको मध्ये ४० जना यादब थरको रहेको गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत राम किशोर साहले जानकारी दिए । ‘पहिलो चरणको परिक्षामा जम्मा १५ जना उतिर्ण भए जस मध्ये १४ जना यादव र एक जना ठाकुर समुदायका छन्, उनले भने, ‘आधारभुत तहको लागी जम्मा १७ जना कक्षा ६ देखि ८ सम्मका लागी ३ जना र माध्यमिक तहका लागी ४ जना शिक्षक माग भएको थियो।’

‘हामीले जातिय रुपमा छनोट गरेको हैन, यस गाँउ पालिकामा यादब जातिको संख्या बढी भएकोले स्वभाविक रुपमा यादब नै छनोट हुन पुगेकाे हो, यसमा कसैले केहि चलखेल गरेको छैन, ढुक्क भए हुन्छ’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत साहले, ‘पालिकाको शिक्षा कार्यविधि अनुसार नै परीक्षामा एक जना जिल्ला प्रशासनका प्रतिनिधी, चारजना जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधीहरुको उपस्थितिमा परीक्षा लिएको हो, विषय विशेषज्ञहरुलाई राखेर प्रत्यक्ष रुपमा प्रश्न पत्र बनाएर परीक्षा लिएका हाै,’ भने ।  त्यसैले पनि कुनै आशंका नरहेको उनको भनाई छ।

शिक्षक छनोटको नतीजा सार्वजनिक भएसँगै विभिन्न खालका प्रतिकृया सार्वजनिक भएको छ। नतिजाले आरक्षणको धज्जी उठाएको जानकारहरुको आरोप छ। छनोट भएको सवै एउटै जातिको हुनुले विधी र प्रकृया उलङ्घन भएको आरोप पनि लागेको छ।