आदिपुरुष रिलिज हुने थिएटरमा हनुमानलाई आरक्षण सिट

मुम्बई, २३ जेठ । अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ सन् २०२३ को प्रतिक्षित फिल्ममा पर्दछ । हालैमात्र यो फिल्मको ट्रेलर रिलिज भएको थियो, जुन ट्रेलरलाई दर्शकले मनपराएका छन् । यो फिल्म रिलिजको दुई साता मात्र समय बाँकी छ । यहीकारण निर्माताहरुले प्रचारको अन्तिम चरणलाई तिब्रता दिइरहेका छन् ।

हालैमात्र फिल्मको टिमले नयाँ अफर घोषणा गरेको छ । अफर अनुसार फिल्म प्रदर्शनको समयमा हरेक थिएटरमा एक सीट रिजर्भ हुनेछ । यो बिना बिक्री भएको सिट दर्शकहरुको आस्थाको खुशियाली मनाउनका लागि भगवान हनुमानलाई समर्पण गरिनेछ ।

‘जहाँ पनि रामायणको पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यो हाम्रो विश्वास हो । यो विश्वासलाई सम्मान गर्दै प्रभासको राम अभिनित आदिपुरुषलाई प्रदर्शन गर्ने थिएटरमा हनुमानका लागि एक बिक्री नभएको सिट आरक्षित गरिनेछ’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मको निर्देशन ओम राउतले गरेका छन् । फिल्म १६ जुनमा रिलिज हुँदैछ । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । फिल्ममा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निभाएका छन् ।