प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन : प्रवक्ता शर्मा

काठमाडौँ-सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा सोच्न पनि नसकिने र उहाँले राजीनामा पनि नदिने प्रष्ट पार्नुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पारिसक्नुभएकाले यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको बताउनुभयो ।

“प्रधानमन्त्रीले धेरै पहिलेको प्रसङ्ग उल्लेख गर्नुभएको हो । सम्बन्धित व्यक्तिले पनि यसबारेमा स्पष्ट पारिसक्नुभएको छ, यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय पनि होइन, उहाँले राजीनामा पनि दिनुहुँदैन”, मन्त्री शर्माले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । मन्त्री शर्माले एमालेले संसद् अवरुद्ध गरिरहँदा सरकारले ल्याएको मिटरव्याज विरुद्धको अध्यादेश निष्क्रिय हुन पुगेको उल्लेख गर्दै यो प्रधानमन्त्रीले राजीनामा दिने विषय नै नभएको बताउनुभयो । “एउटा कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाएर संसद् अवरुद्ध गर्न हुँदैन”, उहाँको भनाइ थियो ।