कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउनुभएको छ । उहाँले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाउनुभएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले राससलाई जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बोलाएको बताइएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन १० गते अपराह्न ४ बजे बस्ने तय भएको छ । झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै भोलि समापन गर्ने तयारी छ ।