राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ । समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । समाजवादी मोर्चाका अध्यक्षसमेत रहनुभएका उहाँले धेरैभन्दा धेरैलाई मोर्चामा समेटेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले मोर्चामा आबद्ध हुन देशभक्त, वामपन्थी र समाजवादी विचारधारा अँगालेका शक्ति र पार्टीलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार, अत्याचार, असमानताका विरुद्ध एकताबद्ध भएर जुध्नुपर्ने उल्लेख गर्दै समाजवाद न्याय, समानता र सबै जनताको समृद्धिको अभियान भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा पनि दलाल पूँजीवादको दबदबा रहेकाले त्यसका विरुद्ध सशक्त प्रतिवाद गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाज सुधारको प्रमुख आधार नै शिक्षा भएकाले त्यसमा सुधारको जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्ला दिनमा सबैभन्दा बढी समस्यामा परेको र ध्वस्त भएको क्षेत्रका रूपमा शिक्षा नै भएकाले त्यसमा आमूल परिवर्तन जरुरी रहेको बताउनुभयो ।

शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने अध्यक्ष यादवको भनाइ छ । विभिन्न विश्वविद्यालय र क्याम्पसमा देखिएको विकृति अन्त्य गर्नैपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । उहाँले समाजवादका लागि गुणस्तरीय शिक्षा जरुरी रहेको उल्लेख गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले धेरै समस्या र उल्झनलाई छिचोलेर सङ्घीय शिक्षा विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न लागिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको समग्र विकासका लागि सो विधेयकले महत्त्वपूर्ण योगदान गर्ने र शिक्षकको समेत समस्या समाधान हुने बताउनुभयो ।

मन्त्री राईले आफ्नो प्राथमिकता उच्च शिक्षाको छाता विधेयक रहेको बताउनुभयो । उहाँले संविधानले मौलिक हकका रूपमा दिएको धेरै विषयवस्तुलाई कार्यान्वयनमा लैजानु जरुरी रहेको र त्यसमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको स्पष्ट पार्नुभयो । शिक्षामन्त्री राईले समाजवादको आधार तयार पार्नका लागि युवा विद्यार्थीले जोसमा होस राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेकपाका स्थायी समिति सदस्य उमा भुजेलले विभिन्न आन्दोलन र विद्रोहको जगमा अगाडि बढ्न लागेको नेपाली विशेषताको समाजवादलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । नयाँ ढङ्गले समाजवादलाई अगाडि बढाउनु जरुरी रहेको स्पष्ट पार्दै उहाँले पूँजीवादले समेत त्यसको केही आधार राखेर अगाडि बढिरहेको बताउनुभयो ।
–––