लसुन खेतीमा रमाउँदै मुसिकोटका किसान

रुकुमपश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका झुपलाल खड्काका लागि लसुन खेती नौलो होइन । तर त्यो परिवारको खपतमा मात्रै सीमित थियो । तर आर्थिक वर्ष २०७५/७६ देखि वडा कार्यालयले लसुनको बिउ उपलब्ध गराउन थालेपछि उहाँ व्यावसायिक लसुन खेतीमा हुनुहुन्छ ।

अहिले उहाँ वडाभित्र धेरै लसुन बिक्री गर्ने किसानमा सबैभन्दा अगाडि हुनुहुन्छ । उहाँका अनुसार पछिल्लो एक सिजनमा लसुन बिक्रीबाट रु एक लाख ६१ हजार आम्दानी गर्नुभयो । “पहिले लसुन बिक्रीबाट यति राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन”, उहाँले भन्नुभयो, “व्यावसायिक लसुनखेती गरेपछि भने राम्रो आम्दानी भइरहेको छ ।”

वडा कार्यालयले लसुनको व्यावसायिक खेतका लागि पहल गरेपछि यतिबेला वडा कार्यालयका अधिकांश लसुन खेतीमा लागेको उहाँको भनाइ छ । यतिबेला खड्कासँगै वडाको चौरका खिमबहादुर ओली, गलमपाटीकी सकुन्तला बुढालगायतले किसानले लसुन बेचेर राम्रो आम्दानी गरिरहनुभएको छ । व्यवसायी पनि लसुन खरिद गर्न घरमै आउने गरेका छन् ।

“हामीले फलाएको लसुन किन्न व्यापारी गाउँमै आउछन्, बजारको कुनै पनि समस्या छैन”, सकुन्तला बुढाले भन्नुभयो । व्यापारीलाई किसानसम्म सम्पर्क गरिदिने काम भने वडा कार्यालयले गरेको छ ।

“आर्थिक वर्ष २०७५/७६ देखि किसानलाई व्यावसायिक रुपमा लसुन खेतीका लागि बीउ वितरण गरेका छौँ, त्यसपछि यसमा लाग्नेको सङ्ख्या बढेको छ”, वडा अध्यक्ष धनबहादुर खड्काले भन्नुभयो ।

मुिसकोट नगरपालिका–१० लसुन खेतीको लागि राम्रो ठाउँ मानिन्छ । सुरुमा वडा कार्यालयले किसानका लागि लगानी गर्दै आए पनि पछिल्लो समयमा कृषि विकास कार्यालयले पनि वडामा लसुन उत्पादन बढाउन सहयोग गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि विकास कार्यालयले वडामा लसुन ब्लक र पकेट क्षेत्र घोषणा गरी काम गरिरहेको छ । लसुन उत्पादन बढाउनका चालु आवमा परियोजनाबाट रु १५ लाख बजेट विनियोजन भएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार वडाका किसानले गत आवमा साढे तीन सय क्विन्टल लसुन बिक्री गरेका थिए ।

वडाका झ्याङ, झाँडारी, जुगेखोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन सदरमुकाम खलङ्गासहित जिल्ला बाहिर पनि पुग्ने गरेको छ । उहाँका अनुुसार गत आवमा यहाँका किसानले रु ३५ लाखको लसुन बिक्री गरेका छन् । वडाबाटै प्रतिकिलो रु एक सय १० का दरले लसुन बिक्री गरिएको हो ।