रास्वपाको विपद् व्यवस्थापनमा नारायणगढ–मुग्लिन सडक खण्डमा आरएटी परिचालन

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा तत्काल प्रतिकार्य समूह (आरएटी) परिचालन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीेको उक्त समूह नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेका यात्रु र सवारी साधनको व्यवस्थापनमा खटिएको हो ।समूहका प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० स्वयंसेवक परिचालन गरिएको रास्वपाका सभापति रवि लामिछानेका निजी सचिब प्रकाश सिग्देलले जानकारी दिनुभयो । विपद्का समयमा परिचालन हुने गरी समूह बनाएर परिचालन गरिएको उहाँले बताउनुभयो । केन्द्रमा विष्णुकुमार श्रेष्ठको नेतृत्वमा उक्त समूह गठन गरिएको थियो ।

उक्त समूहले कार्यक्षेत्रमा रहेका प्रहरीसँगको समन्वयमा उद्धार, व्यवस्थापन र राहतका कामहरु गर्ने छ । मङ्गलबारदेखि विपत् परेका स्थानमा परिचालन हुने गरी खटाइएको उक्त समूहले पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन पहल गर्ने जनाइएको छ ।

सभापति लामिछाने निर्वाचित भएको सय दिनअन्तर्गत घोषणा गरिएको कार्यक्रमअन्तर्गत यो समूह परिचालन भएको हो । अब नियमित समूह परिचालन हुने निजी सचिव सिग्देलले जानकारी दिनुभयो । सो समूहले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा पहिरोमा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण गरेको थियो ।