मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्ध लडाइ सुरु भइसक्यो : प्रधानमन्त्री दाहाल

कर्णाली-प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताउनुभएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा   आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई  वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध एक्सन चालिएको बताउनुभयो ।

वर्तमान सरकारको प्रभावकारी कदमले जनतामा आशा जगाएको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “परिवर्तनको तागत लिएर आएको माओवादीको बिरासत कमजोर छैन । जब सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध सरकारले आफ्नो एक्सन चालेर देखाइदिएपछि अहिले जनताले माओवादीप्रति विश्वास बढेको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणका दोषीमाथि भएको कारबाहीले सरकार के गर्दैछ भन्ने प्रष्ट्याइसकेको छ ।”

क्रान्ति एवं आन्दोलनमा हरेक पटक परीक्षा दिनुपर्ने इतिहास बिर्सन नहुने बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “पासपोर्ट, इजाजतलगायत थुप्रै समस्यामा सरकारले आफ्नो अभिभावकत्व प्रदान गरेको छ । विदेशमा भएका लाखौँ नेपालीको भविष्य सुरक्षित गर्न उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको छ । अहिले नै साढे तीन लाख विदेशमा रोजगारका लागि गएका श्रमिकहरु लाभान्वित भएका छन् ।”

उहाँका अनुसार ४० देखि ५० लाखलाई आबद्ध गराउन लागिएको यो कार्य नै सामाजिक न्याय हो । सयौँ भनाइ भन्दा राम्रो कम गर्नु नै शक्तिशाली हुने बताउँदै उहाँले अब विदेशमा रहेका ४० देखि ५० लाखलाई कोषमा आबद्ध गराएर सामाजिक न्याय दिइने उहाँले दाबी गर्नुभयो ।

कसैको दबाब, करकापमा काम नगरिने र जनताको पक्षमा काम गर्नेहरुले कहिले नहार्ने उहाँको भनाइ थियो । सरकारले थालेको एक्सन ललिता निवासको जग्गा जनताको हातमा पार्ने अभियान भएकाले गलत गर्नेहरुको कोही आफ्नो कोही पराई नहुने उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालका अनुसार लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु भनेकै समाजवाद निर्माणको थालनी हो । समाजवादको धरातल निर्माण गर्ने अभियान भनेकै सुरक्षा कोषको सञ्चालन हो ।