नेताको नजरमा नेम्वाङ : अप्ठेरो र जटिलता फुकाउने नेता

काठमाडौँ – राजनीतिक दलका नेताले नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङको अभाव सधैँ खड्किरहने बताउनुभएको छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पुग्नुभएका शीर्ष नेताले उहाँको निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै अप्ठेरा र जटिलतालाई पार गर्न अगुवाइ गर्ने नेताका रूपमा नेम्वाङ रहेकाले उहाँको योगदानलाई इतिहासले सधँैभरि स्मरण गर्ने बताउनुभयो । उहाँले नयाँ पुस्ताले पनि नेता नेम्वाङबाट प्रेरणा लिई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “उहाँ सादा, स्वच्छ छविको नेताको रूपमा रहनुहुन्थ्यो”, नेता नेपालले भन्नुभयो, “मुलुकमा सुशासन स्थापना होस् भन्ने चाहना पनि उहाँमा रहेको थियो । संविधान निर्माण मात्र नभएर कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा पनि उहाँमा अत्यन्त धेरै हुटहुटी रहेको थियो ।”

नेता नेपालले नेम्वाङ मुलुकको राजनीतिमा जहिले पनि सहमति र समझदारीको वातावरण निर्माण गर्नुपर्दछ भन्ने कुरामा दृढ रहेको भन्दै उहाँको निधनले सिङ्गो लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलन र परिवर्तनको आन्दोलनका निम्ति ठूलो क्षति भएको बताउनुभयो ।

उहाँले संविधान निर्माण र सदन सञ्चालन गर्ने कुरामा पनि उहाँको कुशलता उदाहरणीय रहेको बताउनुभयो । “संविधान निर्माण र संविधानको व्यवस्थापन गर्ने बेलामा उहाँले जुन खुबी प्रदर्शन गर्नुभएको थियो त्यो कमै व्यक्तिबाट त्यस्तो हुन्छ”, उहाँले भन्नुभयो, “उहाँ मिलनसार, मृदृभाषी, शालीन, धैर्य, सबैलाई बुझाउनुसक्ने खुबी र सहिष्णु पनि हुनुहुन्थ्यो ।”

नेता नेपालले नेम्वाङ आफ्नो निम्ति नभएर देशका निम्ति केही गरौँ भन्ने भावना र परिवर्तनलाई संस्थागत गर्ने सोच रहेको उल्लेख गर्दै उहाँको आवश्यकता अहिले झन टड्कारो रहेको बताउनुभयो । “नेता नेम्वाङसँग २०५१ सालमा एउटै सरकारमा रहेको उल्लेख गर्दै उहाँलाई असल व्यक्ति, लोकतान्त्रिक योद्धा र परिवर्तनकारी व्यक्तिका रूपमा र कम्युनिष्ट पार्टीको पनि गौरव गर्न लायक योद्धाका रूपमा स्मरण गर्न चाहन्छु ।”

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नेपाली राजनीति अहिले असहज अवस्थामा रहेको बेला नेता नेम्वाङको अभाव खड्किने बताउनुभयो । “धेरै अप्ठेरो पर्दा पनि तिक्तभावबाट छुट्टिनुपर्दा उहाँ मुसुक्क हाँसेर के गर्ने हो कसरी अगाडि जाने हो भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अप्ठेरो र तिक्त बेला उहाँ सबै नेतासँग मुुसुक्क हाँसेर राजनीतिको एउटा बाटो निकाल्यो भन्ने मान्छे उहाँबाहेक अरु कोही छैन होला सायद ।” उहाँले हरेक अप्ठेरोमा नेम्वाङलाई आफूले खोजिरहने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता वर्षामान पुनले नेम्वाङ सन्तुलित र परिपक्व नेता भएको बताउनुभयो । उहाँले राष्ट्रिय समस्या भएका सबै नेतालाई एक ठाउँमा ल्याउन सक्ने र राजनीतिक दलहरू अप्ठेरो अवस्थामा रहेको बेला पनि वार्ता, संवाद र सहकार्य गर्नसक्ने खुबी भएको नेताको रूपमा स्मरण गर्ने बताउनुभयो ।

नेता पुनले लामो समयसम्म पनि वामआन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको अभाव खड्किरहने बताउनुभयो । उहाँले नेता नेम्वाङलाई मिलनसार, सबैसँग समान व्यवहार गर्नसक्ने नेताको रूपमा आफूले चिन्ने गरेको बताउनुभयो । “नेकपा छँदा पनि नेताबीचको विवाद हुँदा उहाँले सहजीकरण गर्ने र सबैले विश्वास गर्ने नेता हुनुहुन्थ्यो”, नेता पुनले भन्नुभयो, “शान्ति निर्माणका बाँकी काम टुङ्ग्याउन उहाँले निकै नै मेहनत गरिरहनुभएको थियो ।”

उहाँले नेता नेम्वाङ सङ्क्रमणकालीन काम सकाउन र पीडितमैत्री कानुन बनाउन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पनि त्यसअनुसारको काम गर्ने वातावरण बनाउन पनि क्रियाशील रहनुभएको बताउनुभयो ।