हाम्रो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक : मुख्यमन्त्री

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक भएको बताउनुभएको छ । कचहरी प्रेस मिडिया प्रालिद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘संविधान कार्यान्वयनमा कर्णाली : उपलब्धि र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री शर्माले दिनैपिच्छे सरकार फेरिने संस्कृति विकास निर्माणको बाधक भएको बताउनुभयो । “यो अवस्थामा मुलुकको समृद्धि र विकासमा निकै ठूलो असर पु¥याएको छ”, उहाँले भन्नुभयो, “तसर्थ हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख चाहिएको छ ।”

स्थायी सरकारबाट मात्र दिगो विकास हुनसक्ने भन्दै उहाँले साधनस्रोतको हिसाबले सम्पन्न हुँदा पनि पछाडि पारिएको कर्णालीले क्षतिपूर्तिसहितको बजेट पाउनुपर्छ भन्ने आवाज उठाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री शर्माले भन्नुभयो, “कर्णालीको आजको विकासको उपज सङ्घीयता हो । सबै कुरा हुन नसके पनि कर्णाली हिजोभन्दा माथि उठेको छ ।” प्रदेश निर्माणका लागि सबैको सकारात्मक चिन्तन र सोच जरुरी रहेको उहाँको भनाइ थियो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले कर्णाली विकासका लागि राजनीतिक सम्मेलन आवश्यक भएको बताउनुभयो । कर्णाली प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना बनेको व्यङ्ग्य गर्दै उहाँले गठबन्धन सरकार देशभन्दा पनि दिन बिताउन बनेको बताउनुभयो । राष्ट्रलाई नै प्रभाव पार्ने स्रोत र मुद्दा कर्णालीमा भएको भन्दै उहाँले यसको उठानमा सबैको ऐक्यबद्धता आवश्यक भएको औँल्याउनुभयो ।

नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्टले बदलिएको व्यवस्थामा जनताको अवस्था अपेक्षितरूपमा बदलिन नसकेको तर्क गर्नुभयो । मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताउँदै उहाँले कर्णाली एवं मुलुक निर्माणमा राजनीतिक दल जिम्मेवार नभए कर्णाली मात्र नभई सिङ्गो देश नै आर्थिक सङ्कटमा पर्ने अवस्था आइलाग्ने जिकिर गर्नुभयो ।