प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन

महोत्तरी, १७ पुस : नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।

पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपाली बताउनुहुन्छ ।

विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील हुनुभएका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले शोक वक्तव्य प्रकाशन गरेर बताउनुभएको छ । स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् ।