‘मोदिबेनी’ नाममा चलचित्र बन्दै

काठमाडौँ।  माघे सक्रान्तीको पावन अवसर पारी नेपाली चलचित्र ‘मोदिबेनी’ घोषणा गरिएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गर्दैछन् । यो चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहनेछन् ।

म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारी शीर्षक सार्वजनिक गर्दै चलचित्र घोषणा गरिएको हो ।

करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्ने निर्माता के.सी.ले जानकारी दिए । आनन्द बिक्रम क्षेत्रीले लेखेको यो चलचित्र माघ महिनामा नै छायाङ्कनमा जानेछ ।

यस चलचित्रका कलाकारहरूबारे भने जानकारी गराइएको छैन । यस चलचित्रमा चर्चित कलाकारहरू रहने र केही दिनमा सार्वजनिक गरिने जानकारी निर्देशकले दिए । केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको जनाईएको छ ।

निर्देशक कोइरालाले विगत २० वर्षदेखि चलचित्र तथा म्युजिक भिडियो सम्पादन र १० वर्षयता विज्ञापन, वृत्तचित्र, म्युजिक भिडियो तथा सिरिज निर्देशन र सम्पादन गर्दै आएका छन् । उनले निर्देशक तुलसी घिमिरेका केही चलचित्र सम्पादन गरेका छन् ।