राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ, १४ माघ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रियसभा प्रदेशसभाका सदस्य र नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा, सचिव सूर्यप्रसाद गौतमलगायतको उपस्थिति थियो ।